• ३० बैशाख २०७८, बिहीबार

तपाईं बिद्वान कि बुद्धिजीवी ? आफुलाई चिन्नुहोस

माधब प्रसाद दाहाल

हाम्रो समाजमा आफूलाई बुद्धिजीवी भन्नेहरुको लामो लिष्ट नै छ । आफूमा भएको बुद्धि र विवेक प्रयोग गरेर बॉच्नेहरु सबैलाई बुद्धिजीवी भन्न मिले पनि यो शब्दले असाक्षर गरीव वर्गलाई समेट्दैन । त्यसैले यो शब्द आफूलाई सभ्य, परिस्कृत, सचेत तथा सम्भ्रान्त मान्नेहरुको पेवाजस्तै भएको छ । त्यसैले पनि निरक्षर तथा निमुखा र पहु‘च नपुगेका वर्गले चतु¥याइ‘पूर्ण बुद्धिको प्रयोग गरी आफूलाई सदैव नियन्त्रणमा राखिरहने बुद्धिजीवीहरुप्रति शंकाको दृष्टिले हेर्ने गर्दछन् ।

जिउनका लागि बुद्धि प्रयोग गर्नेहरुको विवेकको फाइदा सर्वसाधारणभन्दा कर्ता आफैलाई नै हुन्छ किनकि यस्तो बुद्धि स्वार्थपूर्ण हुन्छ जसमा छलकपटको सम्भावना प्रवल हुन्छ । त्यसैले त भनिन्छ बुद्धिजीवी हुनुभन्दा विद्वान हुनु उत्तम हुन्छ । बुद्धिजीवी र विद्वानमा फरक यो छ कि विद्वानको विवेक स्वार्थप्रेरित हु‘दैन । यस्तो विवेकको फाइदा पूरै समाज र राष्ट्रलाई नै हुने गर्दछ । तर, बुद्धिजीवीहरुको विवेकको फाइदा एउटा स्वार्थप्रेरित गुटलाई मात्र हुने गर्दछ । कतै–कतै त बुद्धिजीवीको भूमिकाले देशलाई नै घात हुनसक्छ । त्यसैले बुद्धिजीवी शब्द हेर्दा वा सुन्दा आकर्षक जस्तो लागे पनि अर्थ केलाउ‘दै जॉदा यो एउटा तुच्छ पदावली हो । बुद्धिजीवीहरुकै सुझावमा नेपालको राजनीतिमा नहुनुपर्ने घटनाहरु पनि भएको हामी सबैले बुझे देखेकै कुरा हो ।

हाम्रो समाजमा कर्मचारी, शिक्षक, प्राध्यापक, पत्रकार, वकिललगायत विभिन्न पेशाकर्मीहरुले आफूलाई बुद्धिजीवी मान्ने गरेको पाइन्छ । यी पेशाकर्मीहरु विभिन्न बुद्धिजीवी संगठनमा आवद्ध भएका पाइन्छन् । राजनीतिक दलहरुको भातृ संगठन विस्तारले नछोएको वर्ग कुनै पनि छैन । जंगलमा विचरण गर्ने राउटेहरु बाहेकका सबै तह र तप्काका पेशाकर्मी, व्यवसायीहरु आफूलाई मूल पार्टीको सदस्य भन्न रुचाउ‘छन् र यसैमा आफ्नो सुरक्षा तथा उन्नति सम्भव देख्छन् । यस अर्थमा राजनीतिक दलहरु आ–आफ्नो संगठन विस्तारमा सफल भएको मान्नुपर्दछ । यिनै राजनीतिक दल र केही सीमित नेताहरु नै नेपालमा सफल छन् तर जनता सधैं असफल भइरहनुपरेको छ । पार्टीहरुको भीडबाट छानेर नेपाली जनताले धेरै टाउकालाई सत्तामा पठाए । तर, नेपाली जनता प्रत्येक पात्रबाट धोका खान विवश छन् । अब आम नेपाल र नेपाली समाजको उन्नतिका लागि आश गर्ने अर्को नयॉ चेहरा नेपाली राजनीतिमा भए जस्तो लाग्दैन । देश बर्बाद भइसक्दा पनि सत्ताको खेलले प्रमुख महत्व पाएको कुरा सबैलाई प्रष्ट छ । अब त सर्वसाधारणलाई यस्तो लाग्छ– राजनीतिक दलहरु भनेका सत्ता प्राप्त गर्नका लागि समूहहरुमा विभक्त स्वार्थी व्यक्तिहरुका झुण्ड हुन् । फगत व्यक्तिगत कुण्ठा पूरा गरेर वैभवशाली र शक्तिसम्पन्न बन्दै कानूनभन्दा माथि बस्न चाहने स्वार्थी समूहको नाम नै राजनीतिक दल हो । राजनीतिक दलहरुका व्यवहार देख्दा यस्तो लाग्छ दलका नेताहरु भनेका रुखमा झुण्डिएर रहेको मासु उफ्रिएर कब्जा गर्न खोज्ने हिंस्रक प्राणीहरु हुन् । एउटा हिंस्रक जनावरले शिकार कब्जा गर्नका लागि अर्कोलाई लखेट्ने मात्र नभई ज्यानै लिइदिन पनि सक्छ । यही प्रवृत्ति नेपाली राजनीतिमा पटक–पटक दोहोरिरहेको छ ।

जहॉसम्म नेपालमा पढेलेखेका, विभिन्न पेशा तथा व्यवसायमा संलग्न सचेत वर्गको पार्टीगत संलग्नताको सवाल छ, यो देशको समग्र उन्नतिको बाधक हुने खालको छ । सत्ता प्राप्तिको स्वार्थपूर्ण खेलमा लम्पट भएर लागेका, आफ्नो देशैलाई बाजी थापेर आफ्नो कुण्ठा पूरा गर्न पछि नपर्ने राजनीतिक दल र तिनका नेताका अन्धभक्त भएर बुद्धिजीवीहरुले आफै र देशलाई नै घात गरिरहेका छन् । के एउटा सचेत भोटर सधैं गल्ती दोहो¥याइरहने नेतालाई नै पटक–पटक भोट हाल्न बाध्य छ ? हामी भोटरहरु किन आजीवन एउटै अक्षम व्यक्तिलाई कथित आस्थाको नाममा भोट हालिरहन्छौं ? के आफूलाई बुद्धिजीवी ठान्नेहरुले कथित जड आस्थाबाट माथि उठेर समग्र देश र देशवासीको समुन्नतिका लागि यथार्थमा खटिएको पार्टी र व्यक्तिलाई चुन्दा कसैलाई घाटा छ र ? होइन भने किन सत्तालोलुप र केवल पदोन्मुखलाई मात्र नेता मान्ने त ?

समाजमा आपसी सद्भावका साथ मिलेर बसेका सम्पूर्ण वर्गलाई आफू सत्तामा चढ्ने भ¥याङ बनाउन पार्टीका नेताहरुले आ–आफ्नो संगठन विस्तार गरेका हुन् । यिनीहरुले विस्तार गरेका संगठनले हामीलाई केही दिएका छैनन् र दिने पनि छैनन् । यस्ता स्वार्थी वैचारिक संगठनका सदस्य हुन लालायित हुनु भनेको हाम्रो आफ्नै कमजोरी हो । एउटा सचेत नागरिक त्यो हो जसको कुनै जड आस्था हु‘दैन । उसको आस्था प्रगतिवादी हुनुपर्दछ ।

देश र जनताका लागि व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर सर्वहितका पक्षमा लाग्नसक्ने जुनसुकै व्यक्ति, समूह वा पार्टीलाई मत दिएर चुन्नसक्ने व्यक्ति नै देशको सच्चा नागरिक हो । नागरिक मत कहिल्यै पनि जडसूत्रवादी हुनुहु‘दैन । यो त देश, काल र परिस्थितिअनुसार परिवर्तित भइरहनुपर्छ तर परिवर्तनको आधार राष्ट्रहित हुनुपर्दछ । राष्ट्रलाई हित गर्ने कुनै नयॉ संगठन अघि आउ‘छ भने सचेत नागरिकहरुले वर्षौंदेखि आवद्ध भएका तर रुढिवादी विचार राख्ने पुराना संगठनलाई समेत बिनाहिचकिचाहट छोड्न सक्नुपर्दछ ।

नेपालमा जतिवटा पार्टी छन्, त्यति नै मात्रामा बुद्धिजीवी संगठनहरु पनि छन् । प्रत्येक पार्टीका बुद्धिजीवीहरुले आफूमा आस्था राख्ने पार्टीलाई बुद्धि दिइरहेको अभिनय गर्दछन् । तर, यथार्थ त्यस्तो होइन ।

बुद्धिजीवी भन्नेहरुलाई पार्टी नेताहरुले जहिले पनि केवल मतदाताको रुपमा मात्र हेरेका हुन्छन् । नेताहरुले आफैलाई नै पहिलो दर्जाको बुद्धिजीवी ठान्छन् । बुद्धिजीवी परिषद्, बुद्धिजीवी संगठन वा यस्तै अरु नामका संगठनमा आवद्ध बुद्धिजीवी भनेका त केवल पद र थोरै सामाजिक प्रतिष्ठाको सपना बुन्नेहरु मात्र हुन् । न यिनीहरुले सुझाएको बुद्धि सर्वहिताय हुन्छ न त पार्टीले नै यिनीहरुले सुझाएको बुद्धिको अनुशरण गर्छ ।

स्थानीयस्तरमा अरुभन्दा आफूलाई प्रतिष्ठित देखाउने होडबाजीमा गठन गरिएका बुद्धिजीवी संगठनहरु आफ्ना माउ पार्टीका आज्ञाकारी निकाय मात्र हुन् । माउ पार्टीले तय गरेको नीतिलाई प्रभाव पार्नसक्ने हैसियत यिनीहरुमा हु‘दैन । आफ्नो स्वविवेक प्रयोग गरेर पार्टीले अंगाल्ने गलत नीतिविरुद्ध ह्वीप तोड्न सक्ने बल पार्टीका बुद्धिजीवीहरुमा हु‘दैन । त्यसैले त कर्मचारी, व्यापारी, शिक्षक, वकिल, पत्रकारजस्तो तमाम पेशाकर्मी वा व्यवसायीहरु आजीवन एउटै पार्टी विशेषको समर्थनमा आफूलाई बुद्धिजीवीको हैसियतमा मात्र राखेर विद्वान हुनबाट बञ्चित भइरहेका छन् ।

आज हाम्रो समाजको आवश्यकता भनेको बुद्धिजीवी नभई विद्वान हुनु हो । एउटा बुद्धिजीवीले आफ्नो अस्तित्व मजबुत बनाउनका लागि फरक विचार समूहलाई नष्ट गरिदिने सोच्नसक्छ । बुद्धिजीवी क्रूर सिद्धान्तको प्रयोग गर्दै अघि बढ्छ । सांसारिक सहअस्तित्वको सिद्धान्तलाई उसले नकार्छ भने एउटा विद्वान व्यक्तिले ‘सर्वे भवन्तु सुखिन…’ को सिद्धान्तलाई अनुशरण गर्दछ । विद्वान व्यक्तिको बुद्धि देखेर कोही पनि डराउनुपर्दैन । यो त प्रकाशजस्तै जताततै उज्यालो छर्नसक्ने र झूटको आवरणले ढाकेर राखिएका तथ्यहरुलाई जस्ताको तस्तै देखाइदिन सक्नेखालको हुन्छ ।

विश्वविद्यालयका विभिन्न तहगत डिग्री तथा पदवि प्राप्त विद्वतवर्गले हरेक पार्टीका हरेक कार्य र परिदृश्यहरुलाई मूल्यांकन गर्दै आलोचनात्मक समर्थन गर्ने हो भने पार्टीहरु छाडा हुने थिएनन् । विभिन्न पेशा, व्यवसायमा संलग्न विद्वतवर्ग आजीवन पार्टीहरुका स्वघोषित प्रवक्ताजस्ता बनिदिदा देश अप्ठ्यारोमा परेको छ । दलगत क्रियाकलापमा आफ्नो संलग्नता हटाएर वा घटाएर पेशागत विशिष्टतामा जुट्नुपर्नेमा बौद्धिक वर्ग राजनीतिक दलहरुका मुखपत्र बन्न गौरव गर्नु बौद्धिकताकै उपहास हो ।


यो सामाग्री लेखकको फेसबूक वालबाट साभार गरिएको हो ।

Facebook Comments Box

चौरजहारी नगरपालिका

 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कर्णाली प्रदेश, रुकुम (पश्चिम)

यो पनि हेर्नुहोस